दशैँको बेला बा-आमालाई चिठी

लक्ष्मी भाट, दार्चुला । पुँजनीय बुबा,आमा, नौ डाडा पारीबाट हजुरकी कान्छी छोरीको तर्फबाट शिर झुकाई ढोक साथै आफन्तीहरुलाई साइनो अनुसारको ढोक एवं आर्शीवाद ।
म यहाँ सन्चै छु त्यहाँ हजुरहरु लगायत सपरिवार आरामै हुनुहुन्छ होला भनि इस्टकुल देवता श्री सुरुपालसँग प्राथना गरेकी छु ।
आमा खासै पत्र लेख्नै पर्ने बिषेश खबर त त्यस्तो केहि थिएन तर हिजो राति सपनिमा हजुरको मलिन मुहार देखे र बिउझीदा मनमा कता कता केहि सब्दहरु खेलिरहे ।
यहाँको मेरो अबस्था सबै सुरुमै भनि सके आमा म ठिक छु चलाइराछु जिवन जसोतसो भए पनि, दिनहरु बिताइराछु उदासि मन भए पनि । तर आज एक्कासि दशैँको मुखमा घर आउनुको साटो छोरीले किन पत्र पठाया होला भनेर हजुरहरु नझस्कीनु ।
मैले पत्र लेख्नुको खास कारण केहि हैन् र छैन् पनि तर म यसपालिकाको दशैँमा नि घर नआइने हुदाँ हजुर लगायत, घरपरिवार, गाउँ घरको र सानै देखि सगैँ हुर्के, खेलेका र सँगै स्कुल पढेका मेरा दौँतरीहरुको हिजो रातिको सपनिले आज खपि नसक्नु याद गरायो ।
आमा हुन त थाहा छ हजुरलाई मेरा दौँतरीहर कोहि छैनन् आजभोलि गाउँमा, कसैको बिहे भएर घरवारी भइसके कोहि म जस्तै अफनो सुनौलो भबिस्य खोज्न घर छोडेर देश, बिदेश लागि सक्नुभएको छ । हिजो मात्रै एक जना दाईले दशैँ मनाउन लागियो घर तिर भनेर फेसबुकमा स्टाटस् हाल्नु भएको थियो । मैले दशैको शुभकामना छ दाई राम्रो सँग जानु राम्रो सँग दशैँ मनाउनु भनि सुते त्यसैले पनि होला मैले गाउँ घर अनि हजुरलाई सपनिमा हिजो राति देखेको ।

आफन्त संँग मिलाउने हाम्रा चाँड पर्व
पीडा भुलाई हसाउने हाम्रा चाँड पर्व ।
बर्ष भरिका सुख दूःख साटासाट गरि
एक आपसमा रमाउने हाम्रा चाँड पर्व ।

तर यहाँ त ठ्याक्कै उल्टो भइदियो आमा । म आउदिन यसपालिको दशैँमा घर । भेटघाट, रमाइलो सुख,दुःख साटासाट सबै सपनिमै सिमित रहे ।
हुन त आजभोलिको परिस्थिति फेरिएको छ होला तर पनि म जन्मेको गाउँमा आकाश पातालको परिवर्तन चाहि पक्कै भएको छैन् । दशैको माहोल चाहि अवश्य बढेको छ होला नि है आमा ?
बह्रमपुरका बाहुन बाजेले हामीलाई दशमीको दिन जमरा र टिका दिएर जान्थे यसपालि नि पक्कै दिएर जान्छन् होला । उहाँको पनि आजभोलि साह्रै याद आउँछ । किन कि हामीले जमरा न राखे नि उहाँ लगायत अरु बाहुन परिवारले हामीलाई जमरा दिएर जान्थे ।
आमा कहिले अवसर कहिले उच्च शिक्षा त कहिले बिरामी भन्दा भन्दै जन्म घरमा दशैँ मनाउन छोडेको नि लगभग ७÷८ वर्ष जति भयो । केहि वर्ष आफनै जिल्लामा हुदाँ त थोरै खर्च थोरै समय भए पनि एक दुई दिनको लागि भए नि आइहाल्थे घरमा टुपुलुक्क । तर अवसरकै खोजिमा २ / ३ वर्ष देखि त म अल्लि टाढा नै छु आफनो जिल्ला भन्दा सो न थोरै खर्चले भयाइन्छ न थोरै समय / बिदाले ।

आमा केहि महिना अगाडि मात्र म गौरा पर्वको लागि बिदा मिलाएर आएकी थिए त्यो बेला पनि हजुर बिरामी हुनुहुन्थ्यो र खासै मन खुसी भएर ति दिनहरु बितेन मेरा । न कतै गइयो न कसै भेटियो बस् घरमै सुतेर बिताए ति दिन । उसो त मेरो बिदा पनि सकिसकेको थियो र फर्किने टाइम पनि भइसकेको थियो । अलि मलाई सञ्चो पनि थिएन तर जसो तसो आइहाले म त्यो दिन आफनो कार्य क्षेत्रमा ।
अनि, हजुरहरु मलाई छोडन बजार सम्मै आउनु भयो त्यो दिन । मलाई आज धेरै याद आउछँ एकान्तमा बस्दा दशैको माहोल छाएको छ । मन उदास भए को छ ।
हुन त म जस्ता धेरै दाई भाई दिदीबहिनीहरु वर्षौदेखि घर भन्दा टाढै छन् मेरा सहकर्मीहरु पनि घर गएका छैनन् तर पनि घरको याद आउदा मन भकानिएर आउछँ मेरो ।

आयो दशैँ यसपालि नि फर्केर फेरी
नबस्नु है यसपालि मेरो बाटो हेरी ।।

आमा यो रहर होइन मेरो यो त केवल बाध्यता हो भनि बुझनु । अनि एक दिन हामीलाई खोजी खोजी भोट माग्न आएका हाम्रा नेताहरुले गाँउमै फर्किन लायक बाताबरण बनाउने छन् । र दाई भाई म हजुरहरुसगै रमाएर दशै मात्रै होइन के न केहि आफनै घरमा आफनै गाँउमा काम गरेर सधै संगै बसौला । संगै दशैँ मनाउला सपरिवार ।
आमा अब धेरै लामो कुरा के गरौँ । ठिकै छ हाँसी खुसि राम्रो सगँ दशैँ मनाउनु । ति साना भदु भदै हामी समझेर खुसि पार्नु र सपरिवार रमाइलो गर्नु, मिठो मसिनो खानु, दशैँको दिन सकिन्छ भने फोन गर्नु । हुन त हाम्रो गाँउमा नेटवर्कको समस्या पनि छ । फुर्सद भए घर माथीको डाडामा गएर फोन गर्नु । फेरी नि भन्छु म अन्त्यमा म आउदिन यसपालि दशैमा ।

खस्दै गरेको आशु रोकियोस सबको
नबलेको चुलोमा आगो बलोस सबको ।
मनको पीर पन्छाउदै दुर्गा माताले,
घर घरमा सबैको बास होस सबको ।

यत्ति भन्दै सम्पुर्ण आफन्तजन,इष्टमित्र,नाताकुटुम्ब लगायत मलाई चिन्ने सबैलाई विजयादशमी २०७५ सालको हार्दिक मंगलमय शुभकामना ।
आजलाई बिदा चाहन्छु । बाकि कुरा भेटमै भनुला ।
उहि हजुरकि कान्छी छोरी लक्ष्मी (उदासि)
                                                                                              बैतडी, हाल दार्चुला ।

Leave A Reply

Your email address will not be published.