सोच बदल्न चाणक्यका तीन भनाइ

दार्चुला । आचार्य चाणक्य, जसले आफ्नो कुटनीतिको बलमा साधारण चन्द्रगुप्तलाई राजा बनाइदिएका थिए । उनले ‘चाणक्य नीति’ नामक पुस्तक लेखेका छन् । यस पुस्तकमा जीवन र जगतका बारेमा थुप्रै कुरा लेखिएका छन्, जो हामीलागि अनुकरणिय हुनसक्छ । साथै यसले हामीलाई सार्थक मार्ग पहिल्याउन मद्दत गर्छ ।

धन खर्च गर्दा सोंच विचार गरौं

धन आफैमा पूर्णता होइन । तर, यसले हाम्रो जीवनका अभाव र आवश्यक्ताहरु परिपूर्ति गर्न सघाउँछ । जब धन हुँदैन, हामी थुप्रै कुराको उपभोगबाट बञ्चित हुन पुग्छौं । सामान्य दैनिकी पुरा गर्न पनि हामीलाई धन चाहिन्छ । धनले सुख दिदैन, तर सुख प्राप्त गर्ने साधनहरु दिन्छ । धनले स्वस्थ्य बनाउँदैन, तर स्वस्थ्य जीवन यापनका लागि आवश्यक्ताहरु पुरा गरिदिन्छ । तर, धन त्यही मात्र हो, जो नितान्त तपाईंको बलबुतोले कमाइ गरिएको होस् ।

अर्कालाई झुक्याएर, छलेर, लुटेर कमाएको धनले तपाईंलाई कहिले पनि सुख र सन्तुष्ट दिदैन । बरु, त्यसले सधै शंका, भय, त्रास, मोहको दलदलमा फसाइदिन्छ । त्यसैले धन आफ्नो पसिना, बुद्धि-विवेकबाट आर्जन गरेको हुनुपर्छ । यसरी कमाएको धनले मात्र तपाईंको मनलाई शितल तुल्याउँछ । अन्य ढंगले आर्जन गरेको धनले तपाईंको मनलाई पोल्छ । जब हामी आफ्नो श्रम, आफ्नो लगाव, आफ्नो मेहनत, आफ्नो विवेक प्रयोग गरेर धन आर्जन गर्छौं, संञ्चय गर्छौं, त्यो धनले हामीलाई शक्ति दिन्छ । अतः यसरी आर्जन गरेको धन त्यही कुरामा खर्च गरौं, जसले सकारात्मक नतिजा दिन्छ ।

आफ्नो स्वस्थ्यका लागि, शिक्षाका लागि, घर-घडेरीका लागि, सुख-सुविधाका लागि खर्च गर्न सकिन्छ । तर, यसरी खर्च गर्दा सोच विचार गर्नुपर्छ कि, आफुले जुन कुरामा धन खर्च गरिदैछ त्यो कति उपयोगी छ ? मदिरापान गर्ने, जुवातास खेल्ने जस्ता कुरामा आफ्नो आर्जन वा मेहनतको कमाई खर्चनु हुँदैन । त्यसो गर्नु भनेको हाम्रो वुद्धि भ्रष्ट हुनु हो । जब वुद्धि भ्रष्ट हुन्छ, हामी मान्छेको खोल पहिरिएका राक्षस जस्तो हुन पुग्छौं । वुद्धि भ्रष्ट भएपछि हामी कुकर्ममा लाग्र्छौं, हिंसामा लाग्छौं । जीवन नष्ट हुन्छ । खुसी र सुखहरु टाढा भाग्छन् । दुख, भय, लोभ आदिले सताउन थाल्छ ।

चाणक्यले भनेका छन्, ‘कुबेरले पनि आफ्नो आयभन्दा बढी खर्च गर्न थालेमा कंगाल हुनेछ ।’ अर्थात धन खर्च गर्दा आवश्यक्ताको प्राथमिकतालाई ध्यानमा राखेर खर्च गर्नुपर्छ । कुन अति आवश्यक कुरा हो, कुन नभई नहुने कुरा हुन्, कुन कुरा नभए पनि हुन्छ । यस्ता कुरामा ध्यान दिएर मात्र खर्च गर्नुपर्छ ।

धन आर्जन गरौं । बचत गरौं । संयमित भएर खर्च गरौं ।

अल्छीपन त्यागौं

हाम्रो सबैभन्दा ठूलो सत्रु को होला ? कसले हामीलाई प्रगति गर्नमा बाधा पुर्‍याएको होला ? कसले हाम्रो अनमोल समय वर्वाद गरिरहेको होला ? छिमेकी, आफन्त, साथीभाई, सहकर्मी कोही पनि यसका दोषी होइनन्/हुँदैनन् । दोषी हामी आफैभित्र छ । त्यो हो, अल्छीपन ।

जब हामी केही गर्न खोज्छौं, हामी भित्रको अल्छीपनले रोक्छ । जब हामी कुनै काम गर्न चाहन्छौं, हामी भित्रको अल्छीपनले छेक्छ । जब हामी मनमनै बुनिएको योजना कार्यन्वयन गर्ने सोंच बनाउँछौं, हामी भित्रको अल्छीपनले बाधा पुर्‍याउँछ । अर्थात आलस्य एवं अल्छीपन नै हाम्रो प्रगतिको वाधक हो । सफल व्यक्तिहरुको कथा पढौं, उनीहरुको दैनिक तालिका हेरौं, कतिपनि अल्छी गरेका पाइदैन । उनीहरुमा जाँगर हुन्छ ।

जाँगरसँगै उर्जा हुन्छ । उर्जासँगै रचनात्मक क्षमता हुन्छ । त्यही कुराले उनीहरुलाई प्रगतिपथमा अगाडि बढाउँछ । संसारमा जति गरिब छन्, त्यसमा धेरैजसो कारण उनीहरु आफै हुन् । हामी गरिब हुन्छौं, कमजोर हुन्छौं भने त्यसमा अरु भन्दा बढी हामी आफै जिम्मेवार छौं । किनभने फुटपाथबाट उठेर पनि कतिपयले विश्वलाई हाँक दिएका छन् । अर्थात पुटपाथमा जन्मनु नै समस्या होइन । एउटा प्रचलित भनाई छ नि, ‘तिमी गरिबको कोखमा जन्मियौं, त्यो तिम्रो गल्ती होइन । गल्ती त त्यो हो, तिमी गरिब भएरै मर्‍यौं ।’ हामी गरिब हुन्छौं, कमजोर हुन्छौ भने त्यसमा सबैभन्दा ठूलो कारक हो, अल्छीपन । जाँगर गर्नेहरु कहिल्यै कमजोर हुँदैनन् । जीवनलाई सार्थक बनाउने, जीवनमा प्रगति गर्ने हो भने अल्छीपन त्याग्नुपर्छ । जाँगर गर्नुपर्छ, श्रम गर्नुपर्छ ।

बर्तमानमा बाँच्न सिकौं

हामी आसपासका छिमेकी, आफन्त, साथीभाईसँग सोधौं, उनीहरु भविष्यप्रति चिन्तित छन् । विद्यालय धाउने बच्चालाई भोलिको परीक्षाको भय छ । कुनै उद्यम सुरु गर्न लागेका तन्नेरीलाई भोलिको बजारको भय छ । छोराछोरी हुर्काइरहेका दम्पतीलाई उनीहरुको भविष्यको भय छ । हामी आज ढुक्कले बाँचेका छैनौं । किनभने हामीलाई भोलिको चिन्ताले भयभित तुल्याएको छ । हामी जे गर्छौ, जे गरिरहेका छौं, भोलिका निम्ति भनेर गरिरहेका छौं । अर्थात भोलिका निम्ति हामीले हाम्रो आजलाई त्याग गरिरहेका छौं ।

हामी भोलिको कुराबाट मात्र चिन्ताग्रस्त छैनौं । हिजोका कुराले पनि हामी पिरोलिएका छौं । हिजोको दिनमा भएका गल्ती, कमजोरीले हाम्रो मन पोलिरहन्छ । हिजो त्यसो गरेको भए हुन्थ्यो, त्यसो नगरेको भए हुन्थ्यो भन्ने औडाहले दुखी बनाइरहेको छ । हिजोको चिन्ता र भोलीको भय त्यागेर आजको दिनलाई सर्वोत्कृष्ट बनाउने प्रयास गर्नुपर्छ । आजको अर्थात वर्तमानलाई हामी जति रचानत्मक, जति उत्कृष्ट बनाउँछौं, भोलि र हिजोको डर एवं चिन्ता त्यसै हराउनेछ । वर्तमानका लागि हामी बाँच्नुपर्छ । भोलि कहिल्यै आउँदैन । हिजो त गुजि्रसक्यो नै ।

चाणक्यले भनेका छन्, ‘हामीले भूतको बारेमा कहिल्यै पच्छताप गर्नु हुन्न, न त भविष्यको चिन्ता गर्नुपर्छ । विवेकवान व्यक्ति जहिले पनि वर्तमानमा बाँच्छन् ।’ –अनलाइनखबरबाट

Leave A Reply

Your email address will not be published.