छ ओटा कलम संगै चलाएर उल्टो र सुल्टो लेख्न सक्ने यी युवक (सफलताकाे कथा)

दुबै हात, खुट्टा, कुहिना र मुखले समेत सजिलै लेख्ने प्रतिभा

दार्चुला । हरेक मानिससंग फरक कला र कुनै न कुनै प्रतिभा हुन्छ, कसैले आफुसंग भएको प्रतिभा पहिचान गरेर प्रयोगमा ल्याउछन भने कसैले आफैसंग भएको क्षमता प्रयोग गर्न नसकेर लुकाएका हुन्छन् ।
साधारण प्रतिभा सबैमा हुन्छ तर कुनै कुनै मानिससंग बिशिष्ट क्षमता हुन्छ, जुन कुरा सुन्दा अचम्म र असम्भब जस्तै लाग्न सक्छ । यस्तै बेजोड प्रतिभा भएका एक ब्यक्तित्त मनोज चन्दले अहिले देश, बिदेश घुमेर आफ्नो प्रतिभा प्रस्फुटन गरी दुनियालाइ सकारात्मक सन्देश प्रबाह गरीरहेका छन् ।
बैतडीको सिगास गाउँपालिका ९ चौखाम घर भएका मनोज चन्दसंग बेजोड लेखन कला छ । डडेल्धुराको जोगबुडामा २०४५ सालमा जन्मीएका चन्दले कक्षा ९ मा पढ्ने बेलादेखी गरेको प्रयासको फलस्वरुप दुबै हात, दुबै खुट्टा, दुबै कुहिना र मुखले सजिलै लेख्न सक्छन । झनै रोचक त उनले ६ ओटा कलम संगै चलाएर उल्टो र सुल्टो लेख्न सक्छन् ।
कक्षा ९ मा अद्ययन गर्ने बेलासम्म बाँया हातले लेख्ने चन्दलाइ सबै साथीभाइले बाँया हातले लेख्दा लेप्ट्या भनेर हेप्न थालेपछि दाँया हातले लेख्ने प्रयास गरेका थिए । शुरु शुरुमा दायाँ हातले लेख्न समेत कठिन मानेका चन्दले दृढ संकल्प बोकेर अगाडी बढ्दा अहिले ६ ओटा कलम संगै चलाएर दुबै हात, खुट्टा, कुहिना र मुखले समेत लेख्न सक्ने भएका छन् ।
निरन्तर प्रयास, आत्मबिस्वास, दृढ संकल्प र सकारात्मक सोचले हरेक कुरालाइ प्राप्त गर्न सकिने चन्दको भोगाइ छ । मन र मस्तिष्कबाट आएको कुरा प्राप्त गर्न सजिलै सकिने तर त्यसकालागी आत्मबिस्वास र निरन्तर प्रयास हुनु आबश्यक रहेको उहाँको भनाइ छ ।

२०६७ सालदेखी आफ्नो कलालाइ देश बिदेशमा देखाउँन थालेका उनले हालसम्म डोल्पा हुम्ला र ताप्लेजुङ बाहेकका ७२ जिल्लामा लेखन कला प्रदर्शन गरीसकेका छन् । साथै अन्तरराष्ट्रिय रुपमा बैकंकबाट शुरु गरेर हंकङसम्मका २३ ओटा देशमा समेत आफ्नो प्रतिभा देखाइसकेको उनि बताउँछन् । ७२ औँ जिल्लाको रुपमा दार्चुला पुगेका चन्दले नेपालका सबै जिल्ला र बिदेशका बिभिन्न ठाउँमा कला देखाउँने योजना रहेको बताए ।
अहिले आफ्नो प्रदर्शनीलाइ केन्द्रबिन्दुमा राखेर अगाडी बढीरहेको भएपनि निकट भबिष्यमा गिनिज बुक अफ द वल्र्ड रेकर्ड राख्ने चन्दको योजना छ । सकारात्मक सोचका साथ अगाडी बढ्ने क्रममा फरक फरक मानब स्वाभाबका कारण बिभिन्न प्रतिक्रिर्या प्राप्त गरेपनि सबैले उत्साह थप्ने काम गरेकोमा उनि खुसी छन् । तर देश बिदेशको यात्रा गर्दा आर्थीक समस्याले सताउने बिषयमा सरकारबाट सहयोग माग्न खोजेपनि अहिलेसम्म आश्वासन मात्रै पाएको तर सहयोग नपाएको उनको गुनासो छ । बिभिन्न ठाउँबाट फर्कीदा खल्तीमा एक दुइ पैसा समेत नहुने अवस्थाको समेत सामना गरेर अगाडी बढ्नु परीरहेको चन्दले अनुभब सुनाउँनुभयो ।
लेखन कलाका धनी चन्द भन्छन, जीवन भनेको सिकाइ हो, सिक्नमा कहिल्लै पछि नपरौ, आफुलाइ चिनेर जीवनमा केहि न केहि गर्न सक्छु भन्ने सोचेर अगाडी बढ्न सके सफल भइने चन्दको अनुभब छ । आफुलाइ बिस्वास गरेर सकारात्मक बाटोमा हिड्न सके जीवन जीउनुको सार्थकता हुने र सफलता प्राप्त हुने चन्दको अनुभब छ ।

Leave A Reply

Your email address will not be published.