प्रहरी समुदाय साझेदारी कार्यक्रमको सम्झौता पत्रमा हस्ताक्षर (बिस्तृतमा)

दार्चुला । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान सञ्चालन गर्न लागेको हो । कात्तिक ११ आइतबारदेखी देशैभर एकैसाथ सञ्चालन हुन लागेको उक्त कार्यक्रम लागु गर्ने गरी शनिबार दार्चुला जिल्लाका सबै स्थानिय तहहरुसंग सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो अभियानले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारी लक्ष्य प्राप्त गर्न सहयोगी बन्ने विश्वासका साथ कार्यक्रम सञ्चालन हुन लागेको हो ।
‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ उक्त अभियान केन्द्रदेखि गाउँ र टोलसम्म सञ्चालन हुनेछ । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिने छ । अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतना सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने अवधारणामा उल्लेख छ । यसअघिका ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी सेवा’ लगायत कार्यक्रम सीमित समयपछि धेरै प्रभावकारी हुन सकेको थिएन । अहिलेको नयाँ अभियानलाई भने दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास गर्ने योजना रहेको प्रहरीले जनाएको छ ।


विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्य्दिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास छ । स्थानीय तहसँगको समन्वयमा विद्यालयमा समेत सामुदायिक सुरक्षा पाठ्यक्रम बनाएर लागु गरिने अवधारणामा उल्लेख छ । कार्यक्रममा ७ सय ५३ स्थानीय तहसँग समन्वय गरिनेछ । दश हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक प्रत्यक्ष संलग्न हुने अनुमान प्रहरीको छ ।
कार्यक्रम सुरु गर्न एक करोड ९२ लाख तथा एक वर्षको कार्यक्रम सञ्चालन गर्न १७ करोड बजेट लाग्ने अनुमान गरिएको छ । यस्तै दीर्घकालीन योजनानुसार ४३ करोड बजेट लाग्ने अनुमान प्रहरीको छ ।
प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ अभियान सञ्चालन गर्न प्रहरी प्रधान कार्यालयले राष्ट्रिय संयोजन र व्यवस्थापनको काम गर्नेछ । जिल्लामा समुदाय–प्रहरी जिल्ला समिति निर्माण हुने छ । यस्तै समुदाय–प्रहरीपालिका समिति, समुदाय–प्रहरी वडा समिति, समुदाय–प्रहरी टोल समिति र प्रहरी–विद्यालय सम्पर्क समिति निर्माण हुनेछ । जिल्ला संयोजकमा प्रमुख जिल्ला अधिकारी रहने र स्थानीय तहका प्रमुख तथा प्रहरी कार्यालयले तोकेको प्रहरी अधिकृत सहसंयोजक रहने छन् ।
उक्त कार्यक्रमले सुरक्षा समन्वयमा महत्वपूर्ण भूमिका खेल्नेछ । मुख्यतः प्रहरी विद्यालय सम्पर्क कार्यक्रम, सामुदायिक सचेतना र अपराध रोकथाम, सूचना सङ्कलन र आदानप्रदान गर्नेछ । त्यस्तै यसले प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, साइबर अपराध नियन्त्रण, सुरक्षा उपकरण विस्तार, सामाजिक विकृति तथा बेचबिखन नियन्त्रणमा भूमिका खेल्नेछ । यसका लागि पर्चा–पम्प्लेट वितरण गर्नेदेखि घरघरमा पुगेर जानकारी गराउने छ । यसले अप्ठ्यारो पर्दा कहाँ सम्पर्क गर्ने भन्ने जानकारी समेत संयन्त्रमार्फत नै हुने जिल्ला प्रहरी प्रमुख डिएसपी नबराज अधिकारीले बताउँनुभयो । प्रशिक्षण, सामुदायिक गस्ती, अन्तरक्रिया, सार्वजनिक सुनुवाइलगायत कार्यक्रम सञ्चालन गरेर सचेतना बढाइनेछ । ‘एक वडा एक कार्यक्रम’ समेत सञ्चालन गरिने प्रहरीले जनाएको छ ।
यसैबिच आइतबारबाट कार्यक्रम सञ्चालन हुने भएपछि शनिबार दार्चुलाका ९ ओटै स्थानिय तहहरुसंग सम्झौता पत्रमा हस्ताक्षर भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
शनिबार जिल्ला सदरमुकामस्थित दार्चुला बिकास संगठनको हलमा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको अध्यक्षता एबं जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीको प्रमुख आतिथ्यतामा स्थानिय तहहरुसंग सम्झौता पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा जिल्लाका स्थानिय तह प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.