भम्केनीमा नेपाल आमाको मूर्ति बनाउन भीमदत्त नगरद्धारा एक करोड सहयोगको घोषणा

महेन्द्रनगर, १९ कार्तिक । महाकाली शारदापिट भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउन भीमदत्त नगरपालिकाले एक करोड सहयोग गर्ने भएको छ ।

नेपाल आमाको मूर्ति निर्माण समितिले सोमबार भम्केनी धाममा आयोजना गरेको बृहत छलफल कार्यक्रममा नगर प्रमुख सुरेन्द्र विष्टले आगामी नगर सभामा एक करोडको सहयोग लगिने बताए । ‘नेपाल आमाको मूर्ति निर्माण जस्तो महत्वपूर्ण कार्य हुँदैन, त्यसका लागि भीमदत्त नगरपालिका सक्दो सहयोग गर्न प्रतिवद्ध छ, आगामी नगर सभामा एक करोडको सहयोगका लागि प्रस्ताव लैजान्छु’ नगर प्रमुख विष्टले भने ।

नेपाल आमाको मूर्ति बनाउन आर्थिक, भौतिक, बौद्धिक सबै किसिमका सहयोग गर्न नगरपालिका तयार रहेको नगर प्रमुख विष्टले बताए । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य, सुदूरपश्चिम प्रदेशका साँसद, राजनीतिक दलका नेता सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले भम्केनी धाम नयाँ पर्यटकीय गन्तव्य घोषणा गरिएकाले स्थानीय सरकार पर्यटन प्रवद्र्धनका लागि योजना बनाएर जाने बताए ।

भम्केनी धाममा नेपाल आमाको मूर्ति बनाउन १४ करोड खर्च लाग्ने अनुमान गरिएको छ । जगद्गुरुले देशभर भ्रमण गरी मूर्ति बनाउन चाहिने धातु संकलन गरेका छन् । भीमदत्त नगरपालिका वडा नं. ८ मा पर्ने भम्केनी धाममा चार महिनासम्म जगद्गुरुले तपस्या गरेपछि यो क्षेत्र धामका रुपमा विकास भएको हो ।

Leave A Reply

Your email address will not be published.