तिहार शुरु भएसंगै बजारमा चहलपहल बढ्यो

दार्चुला । नेपालीहरुको दोस्रो ठुलो पर्व तिहार शुरु भएसंगै गाउँ घर फर्कीन बिभिन्न सामाग्रिहरु किनमेल गर्ने मानिसहरुको संख्या बढेको छ । तिहारको बिभिन्न सामाग्रिहरु र हिउँदेयाममा लगाउँने लुगाहरु खरीद बिक्रि गर्नेहरुको संख्यामा बृद्धि भएसंगै दार्चुला सदरमुकाम खलंगा बजार, छिमेकी धारचुला बजार, गोकुलेश्वर बजार लगायत बिभिन्न स्थानिय बजारहरुमा चहलपहल बढेको हो ।
शिक्षक, बिद्यार्थी, कर्मचारी र बिभिन्न ब्यवसाय, कामको सिलसिलामा सदरमुकाम खलंगामा बस्दै आएका मानिसहरु तिहारकोलागी गाउँ फर्कीने भएपछि पुर्ब तयारी स्वरुप बिभिन्न सरसमानहरुको किनमेलमा ब्यस्त भएका छन् । तिहारमा आबश्यक फुलमालाहरु, मैनबत्ति, लुगा कपडा र खाद्यान्नका सामाग्रिहरु खरीद गर्ने काम भइरहेको छ । सदरमुकाम खलंगामा बस्दै आएका मानिसहरु बिभिन्न चाडपर्वको समयमा गाउँ फर्कीने गरेकाले कहि दिनपछि सदरमुकाम क्षेत्र सुनसान जस्तै बन्ने गरेको छ ।
यस्तै भारतको बिभिन्न ठाउँ र तराइका बिभिन्न जिल्ला तथा केन्द्रिय राजधानीबाट दशैकोलागी गाउँ फर्कीन नपाएका मानिसहरु तिहारकालागी गाउँघर फर्कीन थालेसंगै सवारी साधनहरुमा यात्रुहरुको चाप बढेको छ । तिहारमा घरबाट टाढा बस्दै आएका आफन्तहरुको आगमनले गाउँघरमा चहलपहल बढ्ने गर्दछ ।


यसैबिच तिहारमा भाइटिकाको भाइलाइ लगाउँन र घरलाइ सजाउन कृतिम फुलमाला, पोस्टर बिभिन्न खेलौनाहरु लगायतको कारोबारमा समेत बृद्धि भएको छ । पछिल्लो केहि बर्षयता पहाडी जिल्लाहरुमा समेत प्राकृतिक फूलको उत्पादन र प्रयोग घट्दै गएको छ । भने शहरबजारदेखी ग्रामिण क्षेत्रमासमेत बजारमा पाइने कृतिम प्लाष्टिकजन्य फूलमालाको प्रयोग बढ्दै गएको छ ।
तिहार नजिकिएसंगै सीमावर्ती बजार धारचुला र स्थानिय बजारमा समेत प्लाष्टिकका कृतिम फुलका मालाहरुको कारोबार बढेको छ । कार्तीक २२ गते लक्ष्मी पुजा र २३ गते भाइटिका परेपछि गाउँफर्कीने मानिसहरुले प्लाष्टिकका मालाहरु खरीद गरेर लैजान थालेको ब्यापारीहरुले बताएका छन् ।
दार्चुलामा प्राकृतिक फुल उत्पादन गरी बिक्रीको राम्रो सम्भावना भएपनि बारीमा फूल लगाउँने चलन घट्न थालेसंगै सयौ रुपयाँ खर्च गरेर स्थानीय बजारबाट कृतिम र प्लास्टिकका फूलहरु खरीद एबं प्रयोग गर्न थालीएको छ । मानिसहरुले बजारबाट एक सयदेखी ५ सय रुपैयाँसम्ममा पाइने प्लास्टिकका फूलहरु खरीद गरेर गाउँ फर्कीन थालेका छन् । अहिले दार्चुलाको धारचुला बजारबाट सबै भन्दा बढि कृतिम फूलहरु आयात गरिएको छ । ग्रामीण भेगका गाउँहरुमा प्राकृतिक रुपमै फुलहरुको उत्पादन गरेर माला बनाउँन सकिने भएपनि उत्पादनतर्फ स्थानियको ध्यान जान सकेको छैन ।

Leave A Reply

Your email address will not be published.