तिहारको तेस्रो दिन: घर–घरमा दिपावलीसहित धनधान्यकी देवी महालक्ष्मीको पूजाआजा गरिँदै

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज देशैभर दीपावलीका साथ धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिँदैछ ।

विहानैदेखि घर आगन सरसफाई तथा लिपपोत गरेका गृहणीहरुले उपवास बसी साँझ महालक्ष्मीको पूजा गर्ने गर्दछन् । मूलद्वारदेखि पूजाकोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।

गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् । लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पनि पूजा गर्ने चलन पनि छ ।

लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ । लक्ष्मी पूजापछि आज रातभर पूजाकोठा, घर आगन र टोलमा वत्ति बाल्ने गरिन्छ ।

सुखरात्रीको रुपमा चिनिने आजराति जुन घर उज्यालोले झकिझकाउ छ सोही घरमा लक्ष्मी प्रवेश गर्ने मान्यता रहेको छ । राजधानी काठमाडौं मूख्य ब्यापारिक केन्द्रहरुदेखि गल्लीका घरहरुमा उज्यालो छाएको छ ।

यसैबीच, आजै विहान गाईपूजा पनि गर्ने गरिएको छ । गाईलाई पनि हिन्दूहरु लक्ष्मीमाताको रुपमा पूजा गर्ने गर्दछन् । गाईका सवै अंगदेखि रांैंहरुमा समेत विभिन्न देवी देवताको वास हुने मान्यतासहित गाई पूजा गर्ने गरिन्छ । कसै कसैले भोलि गोबद्र्धन पूजासँगै गाई तथा गोरु पूजा गर्ने पनि गर्दछन् । लक्ष्मी पूजासँगै घर घरमा देउसी भैलो खेल्ने गरिन्छ । देउसी भैलो खेल्नेहरुलाई धान, चामल, पैसा र नैबेद्य दिने चलन छ ।

Leave A Reply

Your email address will not be published.