केपी ओलीको विकल्प खोज्नेबारे अहिले सोच्नै सकिन्न : माधव नेपाल

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नेबारे सोच्नै नसकिने स्पष्ट पारेका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले यस्तो बताएका हुन्। उनले भने, ‘अहिले उहाँको विकल्प खोज्ने कुरा सोच्नै सकिन्न। यो सरकारले काम गरेर देखाउँछ।’ भ्रष्टाचार अन्त्य गर्ने कुरामा वर्तमान सरकार सफल हुने पनि उनको दाबी छ।

उनले प्रधानमन्त्रीले अब कर्मचारीतन्त्रलाई पनि सही ढंगले परिचालन गर्नुपर्ने धारणा राखे। उनले भने, ‘मन्त्रीहरूलाई परिचालन गर्न पार्टी बलियो हुनुपर्छ। पार्टीले सबै ठाउँमा आफ्नो ध्यान दिनुपर्छ। आफ्नो पार्टीका गतिविधिहरूलाई निरीक्षण गर्नुपर्छ। अनुगमन गर्नुपर्छ। सरकारको काम पनि अनुगमन गर्नुपर्छ। निर्माण व्यवसायीहरूले काम गरिरहेका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्छ। राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्छ।’

राजनीतिक क्रान्ति भइसकेपछि अब विकासको लागि सम्पूर्ण ध्यान आर्थिक क्रान्ति, सामाजिक, साँस्कृतिक आर्थिक रुपान्तरणप्रति भएको बताउँदै सरकारले आफ्नो काम त्यहीअनुसार गरिरहेको उनले जिकिर गरे।

स्थायी समिति बैठक बस्न नसक्नुमा पनि प्रधानमन्त्रीको अस्वस्थता नै कारण रहेको उनको स्पष्टोक्ति थियो। उनले भने, ‘सचिवालय र स्थायी समिति बैठक बस्ने योजना थियो। तर, उहाँ (प्रम) एक्कासी बिरामी हुनुभयो, अब उहाँ आरामपछि फिट भएर आएपछि बैठक बस्छ।’

Leave A Reply

Your email address will not be published.