दार्चुलाका खेलाडी-धारचुलामा जुवाडी

0

दार्चुला । दशैतिहारमा जुवा खेल्ने धेरैको बानी हुन्छ । केहिको बाह्रैमास जुवानै खेल्ने पेशा हुन्छ ।

पेशामा लागेको जुवाका खेलाडीहरु यस वर्ष शुरु देखि नै दार्चुलामा कडाई गरेपछि विकल्पको रुपमा भारतीय बजार धारचुलामा खेल खेल्ने मैदान बनाए । जुवा खेल्नमा दार्चुला सदरमुकाम खलंगामा कडाई गरेपछि दार्चुलाका जुवा खेलाडीहरु धारचुलामा गएर जुवाडी बने । बिहानै ठूलो रकम बोकेर भारतीय बजार जाने दैनिकी बन्यो जुवा खेलाडीको । जिल्ला प्रहरी प्रमुखको रुपमा नवराज अधिकारी आएसँगै जुवाडे पहिलो निसाना बने ।

झन गत भदौ १ गतेबाट मुलुकीसंहिता लागू भएपछि प्रहरीलाई जुवामा कडाई गर्ने अवसर बन्यो । प्रहरी नायव उपरीक्षक नवराज अधिकारी भन्नुहुन्छ, जुवाले धेरैका घरबार वर्वाद गरेको छ । जुवालाई हल्का रुपमा लिदा जुवा खेलाडीको मनोबल बढ्ने भएको कारण शुरुदेखि कडाई गरिएको हो ।

विगतदेखि नै जुवा घर भनेर चिनिएको क्षेत्र र खेलाडी पहिचान गरी निगरानी गरेपछि भारतीय बजारमा जुवाडेको खेल मैदान बनेको हो । तिहारको समयमा निरन्तर प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरेर जुवा कन्ट्रोल गरियो, डिएसपी अधिकारीले भन्नुभयो, छिटफुट रुपमा कहि जुवा चलेको हल्ला आउने वित्तिकै प्रहरी परिचालन गरिएको छ । सकेसम्म सदरमुकाम खलंगामा जुवा नहोस् भन्नको लागि कडाई गरिएको हो ।

विगतमा जुवाको लागि प्रख्यात मानिने अड्डाहरुमा यस पटक जुवाडी नभेटिएको प्रहरीले जनाएको छ । विगतमा प्रहरीले जुवाबाट रकम उठाएर खेलाउथ्यो, नाम नबताउने शर्तमा एक विगतदेखि तास खेल्दै आएका खेलाडीले भन्नुभयो, अहिलेका प्रहरी प्रमुख कुनै हालतमा रकम लिन मानेका छैनन् ।

प्रहरीले दशैतिहारमा जुवा खेलाउन नदिदा नेपाली मुद्रा ठूलो मात्रामा धारचुलामा गएको छ । विगतमा तिहारमा खलंगामै जुवा हूँदा भारतीय मुद्रा भित्र्याइन्थ्यो, अहिले ठूलो रकम पारी भारतीय बजार गयो । 

अहिलेको मुलूकी अपराध संहिताले पहिलो पटक जुवा खेल्ने र खेलाउनेलाई तीन महिनासम्म कैद वा तीसहजार रुपैयाँसम्म जरिवाना तथा दोस्रो पटक जुवा खेल्ने र खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना तथा त्यसपछिको कसुरमा पटकै पिच्छे थप तीन महिना कैद र दश हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।

You might also like
Loading...