लेकमले यसरी जितेको थियो मैत्रीपूर्ण महिला भलिवलको उपाधी

0

दार्चुला । दार्चुला सदरमुकाम खलंगामा सञ्चालन भएको अन्तर स्थानीय तह मैत्रीपूर्ण महिला भलिवल प्रतियोगिताको उपाधी लेकम गाउँपालिकाले जितेको छ । सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजना, जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोग तथा जिल्लाका ९ वटै स्थानीय तहको सहयोगमा सञ्चालन भएको मैत्रीपूर्ण महिला भलिवल प्रतियोगिता उपाधी लेकमले जितेको हो ।
निकै प्रतिस्पर्धात्मक फाइनल प्रतियोगितामा नौगाड गाउँपालिकालाई ३–२ ले हराउँदै लेकम गाउँपालिकाले उपाधी चुमेको हो । प्रतिस्पर्धात्मक खेल अन्तर्गत पहिलो सेट लेकम गाउँपालिकाले नौगाड गाउँपालिकालाई २५–२३, दोस्रो सेट नौगाड गाउँपालिकाले लेकम गाउँपालिकालाई २५–२४, तेस्रो सेट नौगाड गाउँपालिकाले लेकम गाउँपालिकालाई २५–२१ चोथौ सेट लेकम गाउँपालिकाले नौगाड गाउँपालिकालाई २५–१९ र अन्तिम सेट लेकम गाउँपालिकाले नौगाड गाउँपालिकालाई १५–३ को अन्तरमा पराजीत गर्दै उपाधी जितेको हो । यस्तै प्रतियोगितामा तृतीय स्थान मालिकार्जुन गाउँपालिकाले जितेको छ ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने लेकम गाउँपालिकाले नगद नौ हजार ९९९ रुपैयाँ शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै द्धितीय टिमलाई नगद सात हजार ७७७ रुपैयाँ शिल्ड मेडल तथा प्रमाणपत्र र तृतीय टिमलाई नगद पाँच हजार ५५५ रुपैयाँ शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक सिआरडिएस नेपालका टिम लिडर अशोकराज ओझाले जानकारी दिनुभयो ।


फाइनल खेलको प्रतिस्पर्धामा राम्रो प्रदर्शन गरेबाफत नौगाड गाउँपालिकाले अतिरिक्त पुरुस्कार स्वरुप ४२ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ भने लेकम गाउँपालिकाले २५ हजार ९ सय ६५ रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताभरी उत्कृष्ट सर्भर नौगाड गाउँपालिकाका अनिता धामी, उत्कृष्ट स्टाइकर लेकम गाउँपालिकाका गौमति जोशी, उत्कृष्ट डिफेन्सर नौगाड गाउँपालिकाका सकुन्तला ठगुन्ना, उत्कृष्ट खेलाडी लेकम गाउँपालिकाका सुशिला जोशी घोषित भएका छन् । उनीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।
यस्तै प्रतियोगिता भरी अनुशासित टिमको रुपमा दुहुँ गाउँपालिकाले प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगितामा उत्कृष्ट अलराउण्डर पुरुस्कार मार्मा गाउँपालिकाका भागरथी महताले प्राप्त गरेका छन् ।

कार्तीक २८ गतेबाट शुरु भएको भलिवल प्रतियोगितामा जिल्लाका आठ वटा स्थानीय तहले सभागिता जनाएका छन् । सामुदायिक ग्रामीण विकास समाज नेपालको २५ औ रजत जयन्ती तथा २६ औ साधारण सभाको अवसर पारी जिल्लामा पहिलो पटक महिला भलिवल प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको समापन सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा र मानबहादुर धामीले गर्नुभएको थियो ।

You might also like
Loading...