भारतीय बाटो हुदै तिंकरको कुञ्चा खलंगामा (फोटोफिचर)

गाउँसम्म पुग्न स्वदेशकै बाटो समेत नहुदा बिदेशी भुमिको प्रयोग गर्नुपर्ने बाध्यता

0

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ तिकंर र छाङरुबासी ब्यासी सौकाहरु गाउँबाट जिल्ला सदरमुकाम आउनजान स्वदेशी भुमिको बाटो नहुदा भारतीय बाटोको प्रयोग गर्न बाध्य छन् । छ महिना व्यास र छ महिना सदरमुकाम खलंगा बसाइ सर्ने व्यासीहरुको कुञ्चा अर्थात बसाई सराई शुरु भएको छ ।

बैसाखमा ब्यास चढेका ब्यासीहरु लालाबाला र बस्तुभाउँ, खाद्यान्न सहित मंसीर महिनामा सदरमुकाम झर्ने गरेका छन् । दार्चुला सदरमुकाम खलंगाबाट १२ हजार फिट उचाईमा बसोबास रहेका तिंकरबासी ६ दिनको हिडाईपछि भारतीय बाटोको प्रयोग गर्दै खलंगा पुगेका छन् । तिंकरबाट पहिलो दिन भारतको गव्र्याङ, दोस्रो दिन लामारी, तेस्रो दिन निजाङ, चौथो दिन गर्वाधार, पाचौ दिन एलागाड हुँदै छैटौ दिनमा कष्टपुर्ण यात्रापछि सदरमुका खलंगा पुगेको स्थानिय पार्वती तिकंरीले बताउँनुभयो ।

गाउँमा दुई पटक हिमपात भएर चिसो बढेसंगै तिकंरमा बसोबास रहेका ६५ परिवार ब्यासीहरु घोडा, खच्चर, झुपहरु सहित भारतीय बाटोको प्रयोग गरेर सदरमुकाम खलंगा कुञ्चा सरेका हुन् । ब्यास गाउँपालिकाले तिकंरसम्म पुग्ने बाटो मर्मत एबं पुननिर्माण गर्न बर्षेनि लाखौ बजेट बिनियोजन गरेपनि अहिलेसम्म गुणस्तरीय काम नहुदा स्वभिमानको स्वास फेर्दै स्वदेशकै बाटो भएर सदरमुकाम आउँने ब्यास बासीको धोको पुरा हुन सकेको छैन । पञ्चायतकालसम्म नेपालकै बाटो भएर कुञ्चा सरेपनि पछिल्लो समय भारतको बाटो भएर आउँनुपर्दा बिभिन्न समस्याहरु भोग्नुपरेको ब्यासका ६१ बर्षिय स्थानिय पुरन सिह तिकंरीले दुखेसो पोख्नुभयो ।

ब्यास बासीसंग नागरीकता मात्रै नेपाली छ, अरु सबै सेवासुबिधा भारतको लिनु परेको छ । अहिलेसमेत खाद्यान्न लगायतको आबश्यक सामाग्रि साथमा बोकेर ब्यासबासी सदरमुकाम झरेका हुन् । घरपालुवा जनावरहरुसहित एकसाथ बसाइ सर्दा भारतीय पक्षबाट बिभिन्न समस्याहरुको सामना गर्नुपर्ने कतिपयले गुनासो गर्ने गरेका छन् । साथै हिउँपहिरो र नदीमा बगेर बस्तुभाउँ क्षति हुने र मानिसहरुलाइ समेत चोटपटक लाग्ने गरेको छ । अहिलेसम्म ब्यासको तिकंरसम्म पुग्ने बाटो बनाउँने नाममा नेताहरुले पेट भर्ने काम मात्रै गरेको ब्यासबासीको गुनासो छ ।

You might also like
Loading...