धार्मिक पर्यटकीय क्षेत्र मालिकार्जुन (फाेटाेफिचर)

0

नरेन्द्र कार्की, दार्चुला । पर्यटन मन्त्रालयले सार्वजनिक गरेको सय गन्तव्य सूचीमा दार्चुलाका दुई ठाउँ पहिचान गरिएको छ । ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक धार्मिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्तर्गत सूचीकृत गरिएको हो ।
स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा जिल्लाका साविकका २१ गाविस समेटेर बनेको अपी नाम्पा संरक्षण क्षेत्र तथा नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा मालिकार्जुन परेको हो । समुद्री सतहबाट ३२०० मिटर उचाईमा रहेको शैल्यशिखरको काखमा अवस्थित मालिकार्जुन मन्दिरमा हरेक मंशिर चर्तुदशीमा ठूलो जात्रा लाग्ने गरेको छ ।
धार्मिक एवं पूरातात्विक महत्वले भरिपूर्ण यस मन्दिरमा हरेक दिन श्रद्धालु भक्तजनहरु आउने र पूजाआजा गर्ने गर्दछन् । खासगरी यो मन्दिरमा शिव पूराण श्रीमद्भागवत, नवाह, सत्यनारायणको पूजा, सप्ता, स्थानीय पर्व जागर, नवरात्रीका साथै पूजनका कार्यहरु समयानुसार हुने गरेको छ । यस मन्दिरमा वर्षमा दुई पटक जात्रा लाग्ने गर्दछ ।

मालिकार्जुन मन्दिर अवस्थिती : पर्यटन मन्त्रालयले सार्वजनिक गरेको नयाँ पर्यटकीय गन्तव्यको विकास गर्नुपर्नेमा मालिकार्जुन गाउँपालिकास्थित राष्ट्को सातौ धाम मालिकार्जुन मन्दिर परेको छ ।
१२।१३ औ सताब्दीमा निर्माण भएको मालिकार्जुन मन्दिर २०६६ सालमा राष्ट्को सातौ धामको रुपमा सुचीकृत भएको हो । ३५ रोपनी क्षेत्रफलमा समेटिएको मालिकार्जुन मन्दिरको झण्डै १५ रोपनी वन क्षेत्र छ । शैल्यशिखरको फेदीमा अवस्थित मालिकार्जुन मन्दिर धार्मिक पर्यटकको गन्तव्यको रुपमा परिणत हुँदै गएको मालिकार्जुन मन्दिरका मुखिया रुद्रसिह धामी बताउनुहुन्छ । सोचेको र चिताएको काम हुने भएको कारण मालिकार्जुन धार्मिक पर्यटकको लागि गन्तव्य बन्दै गएको छ ।
मन्दिरको पूर्वमा ११ मिटर अग्लो गजुर छ जुन स्थानीय भाषामा देवाल भनिन्छ । अहिले पनि मालिकार्जुन मन्दिरमा दैनिक सयौंको संख्यामा पूजाआजाको लागि मन्दिर पुग्ने गरेको छन् । मालिकार्जुन मन्दिरमा धर्मावलम्बीहरुको लागि गेष्ट हाउँस निर्माण गरिएको छ । अझै मालिकार्जुन मन्दिरलाई राष्ट्यि तथा अन्तर्राष्ट्यि क्षेत्रमा चिनाउनु आवश्यक छ, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष समेत रहनुभएका मुख्य धामीले भन्नुभयो । जिल्लाकै प्रसिद्ध तथा राष्ट्को सातौ धाम मालिकार्जुन मन्दिर क्षेत्रलाई धार्मिक गन्तव्यका रूपमा विकासगर्न स्थानीय बासिन्दाले सक्रियता देखाएको मालिकार्जुन पर्यटक पूर्वाधार विकास समितिका सचिव जनकसिह धामीले बताउनुभयो ।
घोषणापछि भक्तजनहरुमा खुसीयाली छाएको छ, उहाँले भन्नुभयो, राष्ट्यि तथा अन्तर्राष्ट्यि स्तरमा चिनिदै गएको मालिकार्जुन मन्दिर सरकारको पर्यटकीय गन्तव्य सूचीमा पर्नु खुसीको विषय हो ।यो मन्दिरमा मित्रराष्ट् भारतको उत्तराखण्डका विभिन्न स्थानहरुका लागि प्रसिद्ध धार्मिक तिर्थस्थलको रुपमा चिनिदै आएको छ ।

पूजा पद्धति : भगवान शिवलाई देवाधिदेव महादेवका रुपमा लिइने भएकोले मालिकार्जुनको बाँस स्थानलाई देवताहरुको राजधानीको रुपमा लिने गरिएको छ । श्री शैल्यशिखरमा हरेक वर्ष असार शुक्लप पक्ष चतुर्दशी र कात्तिक शुल्क पक्ष त्रयोदशीमा जात्रा लाग्ने गरेको छ ।
जात्रामा पुजा गर्नका लागि भक्तजनहरुले एक महिनाअघिदेखि साकाहारी भोजन मात्रै गर्नुपर्ने हुन्छ । एकसाता अघिबाट एक छाक मात्रै खाने चलन रहि आएको छ । मालिकार्जुन धामको महत्व मालिकार्जुन गाँउपालिकाको वडा नम्बर ३ मडमा अवस्थित मालिकार्जुन धार्मिक क्षेत्र जिल्लाकै प्रमुख धार्मिकस्थल तथा राष्ट्को सातौ धामको रुपमा सूचिकृत छ । परम्परा र पूजापाठ गर्ने संस्कृति तथा भक्तजनहरुको सहभागिताका आधारमा जिल्लाकै ठूलो धार्मिकस्थलको रुपमा मालिकार्जुन रहेको छ । यहि कारण पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको सय गन्तव्य सूची अन्तर्गत नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा मालिकार्जुन राखेको छ । सदरमुकाम खलंगाबाट ५० किलोमिटरको सडक दूरीमा रहेको मालिकार्जुन धार्मिकक्षेत्रसम्म सडक पूर्वाधार विकास भएको छ ।
भारतको कत्युरबाट धर्म रक्षाका लागि भाग्दैआएका केही पूर्वजहरुको भक्ति र समर्पणले मालिकार्जुन भगवानको वासस्थान श्री शैल्यशिखर क्षेत्र रहेको पौराणिक मान्यता रहेको छ । पाल, पन्त, रिठाल, मडाल, अठोला, गोदालो भन्ने सांस्कृतिक तथा जातिगत मान्यता र भूमिका पनि यो क्षेत्रमा रहेको छ । परम्परागत मूल्य, मान्यताका आधारमा वुढापाका र कारिन्दाहरुले पूजापाठ गर्दैआएका छन् । विगतदेखि नै हरेक जाती र पक्षलाई केही न केही भूमिका दिइएको छ । रजबार, पन्ना, मुखिया, भणरे, पतरे, भोकरिया जस्ता पदले यहाँ भुमिका दिइएको छ । मालिकार्जुनलाई शिव मन्दिरको रुपमा पूजा पाठ गर्ने चलन छ ।
मालिकार्जुनको धार्मिक तथा आध्यात्मिक महत्वभन्दा पनि धार्मिक पर्यटनको विकासलाई प्राथमिकताका साथ राखिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी बताउनुहुन्छ । मन्दिरकै विकासको लागि बजेट विनियोजन गरिदै आएको छ । पछिल्लो समय जगतगुरु मोहनशरण देवाचार्यजीले ज्योतिर्लिंग स्थापना गरेका छन् । मालिकार्जुन दर्शन गर्न आउने भक्तजनले सहज रुपमा मालिकार्जुनको दर्शन गरुन भनेर दुई वर्षअघि ज्योतिर्लिंग मालिकार्जुन मन्दिरमा स्थापना गरिएको छ । पौराणीक ग्रन्थहरुमा देवाधिदेव महादेवका १२ वटा ज्योतिर्लिंगमध्ये एउटा ज्योतिर्लिंगको रुपमा मालिकार्जुन मानिएको छ ।
मालिकार्जुन जात्रा : रााष्ट्कै साताै धाम
शैल्यशिखर मालिकार्जुनमा जिल्लाकै सबैभन्दा ठूलो जात्रा बिहीबार राती लाग्दै छ । बुधबार शिखरको पुजन जात्रा पछि चर्तुदशीको दिन मालिकार्जुन मन्दिर मडमा जिल्लाकै ठूला जात्रा लाग्ने गर्छ । शिखर धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र निसन्तानिलाई सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको मालिकार्जुन पर्यटन पूर्वाधार विकास समाजका सचिव जनकसिह धामीले बताउनुभयो ।
शैल्यशिखरमा मालिकार्जुन स्वामीको बासस्थान रहेको स्थानीय देवस्तुतिहरु, झोडो, फाग, अठ्वाली, आदीमा वर्णन गरिएको पाइन्छ । जंगलको बीचमा रहेको हिउँले ढाक्ने यो क्षेत्रलाई हिमशिखर शिवालयको रुपमा समेत व्याख्या गरिएको छ । पहिलो पटक शिखरपूजनमा सहभागि हुने,दर्शन गर्नेहरु भक्तजनहरुले १५ दिनदेखि नै हरेक दिन नुहाउने, एक छाक मात्रै खाने, मासु प्याज, लसुन, मसुर आदीजस्ता कुराहरु नखाने धार्मिक विश्वास रहेको बताइएको छ । मड गाउँबाट पाँच किलोमिटर उचाईमा शिखर रहेको छ ।
शिखर धाममा पुजन जात्रामा सहभागि हुनको लागि नेपालका शुदूरपश्चिम क्षेत्रका मात्र नभई भारतको उत्तराञ्चल प्रदेश पिथौरागढ, अस्कोट, जौलजीवि, बलुवाकोट आदी क्षेत्रबाट ठूलो संख्यामा भक्तजन एवं दर्शनार्थीहरु मंगलबारदेखी नै यहाँ पुगेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले जानकारी दिनुभयो ।
मालिकार्जुनका देबीहरुको बसोबास रहेको लेकम ५ मैखोली, लेकम ६ उचाकोट, लेकम २ गराडीलगायत बिभिन्न शक्तिपीठहरुमा रातभरी मालिकार्जुन मन्दिरमा जात्रा लागेकै दिन जात्रा लाग्ने गर्दछ । द्धितिया तिथीबाट जिल्लाको लेकम क्षेत्रमा शुरु भएको जात्रा पूर्णिमाको दिन सकिन्छन् । लेकम गाउँपालीकाको पाती, कुणीलगायत स्थानमा पुर्णिमाको दिन अन्तीम जात्रा लाग्ने गर्दछ । जिल्लाको लेकमा क्षेत्रमा दशै तिहार भन्दा पनि जात्रालाइ बढि महत्व दिइने गरेको छ । मालिकार्जुन जात्रामा दमाहा बाजासहित भक्तजनहरुको भीड लाग्ने गर्छ ।
एक गाउँको दमाहा अर्को गाउँसँग प्रतिस्पर्धा हुने गर्छ । रातभर दमाहा बजाएर विहानी पख सबै बाँजाहरुबीच प्रतिस्पर्धा गराई पहिलो तथा दोस्रो भनेर मन्दिरका मुखियाले विजयी भएको घोषणा गर्ने समेत चलन रहेको छ । मालिकार्जुनको जात्रामा रिठाचौपाता गाविसबाट आउने दमाहा बाँजा हरेक वर्ष प्रथम हुन्छ भने मालिकार्जुनकै दोस्रो । यसैगरी रिठाचौपाताको जयपूर मन्दिरमा लाग्ने जात्रामा मालिकार्जुनको दमाहा पहिलो हुन्छ ।
रातभरी जात्रा हेरेर सनिबार बिहान प्रसाद ग्रहण गरी मानिसहरु घर फर्कन्छन् । भने कोहीले बिहानी पख ठाडो खेल, ढुस्को तथा देउडा खेल्ने गर्दछन् । संस्कृतिमाथि विकृती रोक्नु जरुरी पछिल्लो समय दार्चुलाका मठमन्दिरमा झण्डै एक महिनासम्म लाग्ने जात्रा विकृतिको रुपमा फैलिन थालेको छ । धार्मिक कार्य र मनोकामना पूरा हुने जनविश्वासका साथ परम्परागत रुपमा मनाइदै आएको जात्रा युवापुस्तामा आउँदा विकृतीमय बन्दै गएको हो ।
रात्रीकालिन समयमा लाग्ने जात्रामा युवाहरु मदिरामा लठ्ठीने गाजा धतुरो खाएर जाने भेटिन्छन् । यस्तै युवायुवतीहरुको भेटघाट र प्रेमलाप गर्ने समयको रुपमा जात्रालाइ लिन थालेका छन् । बुढापाकाहरु श्रद्धाभक्तले गएका मन्दिर वरीपरी युवायुवतीको विकृती रोक्न नसके आगामी दिनमा जात्राको महत्व घट्ने बुढापाकाहरु बताउँछन् ।
फोटो मालिकार्जुन मन्दिर

You might also like
Loading...