हिउँ फुलको उपत्यका, प्राकृतिक विविधताको अनाम घाटी ब्यास क्षेत्र (फोटोफिचर)

सौका समुदाय र ब्यास क्षेत्रको इतिहास जीवन्त राख्न सरकारले ध्यान दिनु आबश्यक

0

लोकेन्द्र प्रसाद जोशी /प्रकाश चन्द्र मिश्र दार्चुला ।
दार्चुला जिल्लामा थुप्रै धार्मीक, सास्कृतिक, प्राकृतिक, पर्यटकिय स्थलहरु गुमनाम भएका छन् । अपार प्राकृतिक सुन्दरताको खानी दार्चुलाको व्यास तपोभूमिलाइ धेरै दृष्टिकोणबाट पर्यटकिय गन्तब्य बनाउँन सकिने सम्भाबना रहेको छ ।
ब्यास क्षेत्रमा प्रकृति पुत्र अति मेहनति, मिलनशार, उदार एवं समाजसेवी भावनाले ओतप्रोत ब्यापारीक जाती ब्यासीहरुको बसोबास रहेको छ । ट्रान्स हिमालयमा वसोवास गर्ने शौका जातीको ईतिहास र विभिन्न समयमा गरिएका शोध पुस्तकहरुमा बर्णन गरीएको छ । आफ्नो मौलिकता, ऐतिहासिक पृष्टभुमि र सांस्कृतिक पहिचान एवं विरासत भएका आदिवासी जनजाति ब्याँसी शौका दार्चुलाको व्यास गाउँपालिका र भारतको दारमा परगनामा आदिमकाल देखि बसोबास गर्दै आएको किम्बदन्ती रहेको छ ।
अपी हिमालको काखमा व्यास ऋषिको पवित्र तपोभूमिमा बसोबास गर्ने हुनाले ब्याँसी भनी चिनिएका शौका समुदायले ‘रं’ संस्कृति मान्ने गरेका छन् । विकट हिमाली क्षेत्रमा आदिमकाल देखि छरिएर रहेको सो समुदायको आर्थिक, सामाजिक, सास्कृतिक, ऐतिहासिक र राजनीतिक स्तर माथि उकास्नका लागि हाल सम्म नेपाल सरकार वाट खासै प्रयासहरु हुन नसकेको समाजिक अद्ययनकर्ता एबं स्थानिय संस्कृतिका जानकार प्रकाश चन्द्र मिश्रले बताउँनुभयो । व्यास ऋषिले यसै क्षेत्रको ब्यास गुफामा बसेर बेद, पुराण र उपनिसद जस्ता धार्मीक ग्रन्थहरुको रचना गरेका कारण ब्यास गाउँ नामाकरण गरीएको किम्बदन्ती रहेको छ । कालापानी, लिपुलेक, तिकंर भञ्याङ, महाकाली नदीको उद्गमस्थल लिम्पीयाधुरा जस्ता थुप्रै राष्ट्रिय अन्तरराष्ट्रिय चर्चाका स्थानहरु भएको कारण समेत यो क्षेत्रको बिशेष महत्त रहेको स्थानिय दिपक खातीले जानकारी दिनुभयो ।
दार्चुला जिल्ला सदरमुकामबाट २८ कोष टाढा ब्यासमा बसोबास रहेका शौका जाती र व्यास उपत्यकाको ईतिहासको विषयमा हाल सम्म नेपालमा कुनै किसिमको गहन अध्ययन अनुसन्धान नहुनु दुखद बिषय भएको उहाँले बताउँनुभयो । तथापी भारत सरकार, विभिन्न शोधकर्ता, पश्चिमा शोध कर्ताहरुले त्यहाँको प्राचिन ईतिहास र शौका जातीका विषयमा धेरै पुस्तकहरु लेखेको र शोध कार्य गरेको पाइन्छ । विगत केहि वर्ष देखि व्यासी सौका समाज ले आफ्नो संस्कृति परम्परा र विरासत जोगाउनको लागि विभिन्न कार्यहरु गर्दै आईरहेको छ । सडक लगायत आधारभुत बिकासका पुर्बाधारहरु समेत नपुगेको चिसो मौसम भएको व्यास क्षेत्रमा ६ महिनामात्रै मानबजातीको बसोबास हुने गर्दछ । यो क्षेत्रमा बसोबास रहेका ब्यासीहरु ६ महिना ब्यास र ६ महिना खलंगा बस्दै आएका छन् ।


प्राचिन ग्रन्थ, ऐतिहासिक एवंम पुरातात्विक प्रमाण, नृवंशिय खोज, भारतिय एवंम युरोपिय लेखक एवंम शोधकर्ताहरुले लेखेका खोजपुर्ण विवरणको आधारमा यस क्षेत्र र यहाँ वसोवास गर्ने शोका समुदायको वारेमा जानकारी लिन सकिने समाजिक अद्ययनकर्ता मिश्रको भनाइ छ । दुर्गम यस हिमाली क्षेत्रमा वसोवास गर्ने शौका समुदायको जनजिवन, रहनसहन, भेषभुषा, भाषा संस्कृति, परम्परा रितिरिवाज, हिमालयन काष्टकला, ईतिहासको विषयमा महत्वपुर्ण विवरण सरकारी स्तरको पहलबाट बाहिर ल्याउनुपर्ने आबश्यकता छ ।
अदभुत हिमाली क्षेत्रमा वसोवास गर्ने यिनै प्रकृति पुत्रको आर्थिक समाजिक एवंम सास्कृतिक जिवनमा यहाँको भौगोलिक पर्यावरणले सर्वाधिक प्रभाव पारेको छ । यिनिहरुको कृषि व्यवसाय, पशुपालन, रहनसहन, भेषभुषा, खानपान तथा वास्तुकला सवै विशिष्ट खालका छन । यहाँको भौगोलिक पर्यावरण ले नै यस क्षेत्रको एक विशिष्ट शौका संस्कृतिको सृजना गरेको छ । यो सास्कृतिक विरासत यति समृद्ध तथा परिपुष्ट छ कि सुदुपश्चिममा मात्र हैन नेपाल अधिराज्य मा नै विशिष्ट सास्कृतिक समुहको रुपमा यसको विशिष्टता सदैव रहिआएको समाजिक अद्ययनकर्ता मिश्रले बताउँनुभयो ।


शौका समुदाय नेपाल कैे सवैभन्दा निपुण, परिश्रमी, ईमानदार तथा अन्तरराष्ट्रिय ट्रान्स हिमालयन व्यापारी रहदै आएका छन् । यिनिहरुको अन्तरराष्ट्रिय व्यापारको परिवेश असाधारण रहेको छ, यिनको व्यापार हिमालयको वारपार चल्दै आईरहेको छ जुन परिस्थितिमा यिनिहरु व्यापार गर्छन विश्वभरमा दोस्रो उदाहरण खोज्नु अत्यन्त कठिन हुन्छ । केहि महिना सम्म दुर्गम पहाडीपथ र हिमालि पथमा यात्रा गर्दै नेपाल भारत तिव्वत र तिव्वत नेपाल भारत हुदै विभिन्न गाउ वस्ति र व्यापारिक ठेगानाहरुमा पुग्ने गर्दथे मिश्रले भन्नुभयो, हिमालयको दुर्गम क्षेत्रमा गरिने यो यात्रा एक प्रकारको विजय यात्रा जस्तै छ ।
परापुर्ब कालदेखी चल्दै आएको यो ब्यापार वर्तमान अवस्थामा आएर घट्दै गईरहेको छ किनकि नँया पुस्ता पढे लेखेको वनेर विभिन्न सरकारी सेवा र जिविकोपार्जनका अन्य साधनको खोजीमा नेपालको विभिन्न कुनाकप्चा र विदेश तिर पलायन भई रहेका छन, यस परिवर्तनसिल समयमा निषिद्ध एवंम समाजिक नियन्त्रणका अन्य तरिकाको शिथिलताको कारणले व्यासका शौका समुदायको रितिरिवाज, भेषभुषा, परम्परा, चाडपर्व, संस्कृति एवं हिमालयन काष्टकला, वास्तुकलामा विघटनको प्रभाव अनुभव गरीएको छ ।


पर्यटनको क्षेत्रमा विशिष्ट पहिचान राख्ने दार्चुला जिल्लामा अहिले पनि अनगिन्ति पर्यटकिय स्थलहरु गुमनाम अध्यारोमा रहेका छन । दार्चुला जिल्लाको व्यास उपत्यका नेपालको पर्यटन मानचित्रमा सरकारी लापर्वाहिका कारण आफ्नो स्थान वनाउन सकेको छैन् । विभिन्न अध्ययन एवम अनुसन्धानकर्ताहरुले यस क्षेत्रमा ३१५ प्रजातिका फुलहरु पाईने दावी गरेका छन साथै यस क्षेत्रमा हिमालयमा पाईने वहुमुल्य विभिन्न प्रजातीका जडिवुटिहरु पनि पाईन्छन जसको लेखाजोखा हाल सम्म नहुनु दुखद बिषय छ । २०६७ सालमा स्थापना गरीएको अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्ने ब्यास क्षेत्रको अनुपम महत्त र बहुमूल्य सम्पतीको समेत अहिलेसम्म संरक्षण र प्रचारप्रसार हन सकेको छैन् । ब्यासमा राज्यको नियमित उपस्थिति समेत नहुदा जौबीक बिबिधता र प्राकृतिक सम्पदाहरु बिनास हुने क्रम बढ्दो छ ।


शौका जाती र व्यास उपत्यका विषयमा धेरै पुस्तकहरु लेखिएका छन जस मध्ये स्वामी प्रणवानन्द, शिव प्रशाद डवराल, रतन सिह रायपा, पदमा गव्र्याल, गगोंत्रि गव्र्याल, चाल्र्स ए सेयरिडं, र १९३९ मा द थ्रन अफ द गड भन्ने पुस्तकमा स्विस भुगर्भशास्त्रि आरनोल्ड हाईम अगष्ट गेन्सरले व्यास उपत्यका लाई हिमालयको स्विजरल्याण्ड भनेर व्याख्या गरेको पाइन्छ । व्यास उपत्यकाम रहेको ऐतिहासिक राखु गुफा मानव सभ्यता केन्दको रुपमा राखिएको छ । शौका जाती भन्दा पहिला व्यासमा वसोवास गर्ने राखुहरु निकै समिद्ध र सभ्य थिए भन्ने कुरा स्विहरुले लेखेका छन मिश्रले भन्नुभयो, उनिहरुले यस गुफा लाइ मृत्यु गुफा भनेर लेखेका छन जहा राखु समुदायको अन्त भएको थियो । अहिले सम्म यो गुफाको विषयमा कुने अध्ययन अनुसन्धान भएको छैन ।
व्यास उपत्यका हिन्दु र वौद्धहरुको पवित्र धार्मीक स्थल कैलास मानसरोवरको प्रवेश द्धार, जैविक बिविधताको राजधानी, एक मानव सभ्यताको अन्त भएको ऐतिहासिक राखु गुफा, उत्कृष्ट हिमालय काष्ट एवंम वास्तुकलाको नमुना, फुलों कि अनाम घाटी, व्यास अपि र नाम्पा हिमालको काखमा अवस्थित उपत्यका, एक आफ्नै भेषभुषा, रहनसहन, भाषा संस्कृती, कृषि र पशुपालन भएको यस क्षेत्र लाई खुला संगा्रहलयको रुपमा विकास गरिनु आबश्यक छ ।


अन्तमा ब्यासका अगुवा र सरकारको ध्यान नजाने हो भने अहिलकै अवस्थामा त्यहाँ निर्माण भइरहेका आधुनिक घरहरु र वर्तमान जलवायु परिवर्तनको कारणले गर्दा प्राचिन काष्टकला एवं प्रकृतिक पर्यावरणको शौन्दर्यता लोप हुदै जाने चिन्ता छ । व्यास उपत्यकाको शौन्दर्यता ईतिहासमा नै सिमित हुन नदिन नेपाल सरकारले बिशेष ध्यान दिनु आबश्यक छ ।

तस्बिर दिपक खातीकाे सहयाेगमा

You might also like
Loading...