महिला स्वास्थ्य स्वयम् सेविको भूमिकाको उच्च मूल्याङ्कन: राज्यमन्त्री रावल

0

महेन्द्रनगर, १९ मंसिर । सुदूरपश्चिम सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले प्रदेश सरकारले महिला स्वास्थ्य सेविकाहरुले मातृ शिशु स्वास्थ्यमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्ने बताएका छन् ।

१५ औं महिला स्वास्थ्य स्वयम् सेविका दिवसको अवसरमा भीमदत्त नगरपालिका कार्यालयमा आयोजना गरिएको कार्यक्रममा राज्यमन्त्री रावलले विदेशबाट रकम लिएर गरिने सेवा भन्दा महिला स्वयम् सेविकाको पवित्र सामाजिक सेवा भएको भन्दै प्रशंसा गरे । ‘स्वास्थ्य समस्या समाधान गर्ने अभियानमा तपाईहरुको भूमिका महत्वपूर्ण छ, प्रदेश सरकार त्यसको उच्च मूल्याङ्कन गर्दछ’

कार्यक्रममा राज्यमन्त्री रावलले भने, ‘एनजिओ आइएनजिओले ठूलो रकम खर्च गरी गर्ने सेवा भन्दा निस्वार्थ भावले गरिएको यो सेवा अत्यन्तै प्रभावकारी छ, यसका लागि प्रदेश सरकार सक्दो गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ राज्य मन्त्री रावलले प्रदेश सरकारले पहिलो पूरक बजेटबाट स्वयम् सेविकाका मागलाई सम्बोधन गर्दै आएको उल्लेख गर्दै यसलाई निरन्तरता दिने बताए ।

‘प्रदेश सरकारले पूरक बजेटमा स्वयम् सेविकालाई तीन हजार रुपैँया दिने निर्णय गरिएको थियो, अहिले चालुमा एकमुष्ट १० हजार दिने निर्णय गरी बजेटमा समावेश गरेका छौ’ उनले भने,‘आगामी दिनमा तपाईहरुको योगदानको सधैं कदर गर्नेछौ ।’
राज्यमन्त्री रावलले स्वयम् सेविकाका मागलाई सम्बोधन हुने गरी प्रदेश सरकार अघि बढेको बताए ।

भीमदत्त नगरपालिकाको सामाजिक विकास समितिका सभापति हरक सिह धामीको सभापतितत्वमा गरिएको कार्यक्रममा राज्यमन्त्री रावलले भीमदत्त पन्त अस्पताल (साविक महाकाली अञ्चल अस्पताल) को स्तरोन्नति, शिक्षा, स्वास्थ्य, सिँचाई, पर्यटन पूर्वाधार विकास लगायतका कार्यलाई प्राथमिकता दिइएको बताए ।

सामाजिक विकास समितिका सभापति धामीले स्वयम् सेविकाहरुको भूमिकालाई नगरपालिकाले सम्मान गर्ने उल्लेख गर्दै नगरका सवै वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा भीनपा वडा नं. १२ का अध्यक्ष कृष्ण सिह देउपा, समाजसेवी लिलाध्वज वस्नेत, भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, महिला स्वास्थ्य स्वयम् सेविका समन्वय समितिका संयोजक भारती सिह, अधिकारकर्मी भगवति थापा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा हाजिरी जवाफमा विजयी आमा समूह र विभिन्न स्वास्थ्य संस्थाका उत्कृष्ठ स्वयम् सेविकालाई सम्मान गरिएको छ । स्वयम् सेविका लक्ष्मी बोहराले सञ्चालन गरेको कार्यक्रममा नगर क्षेत्रका सबै स्वयम् सेविकाहरु सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाका १९ वडामा एक सय ५२ स्वयम्सेविका छन् । कार्यक्रम अघि बजार क्षेत्रमा र्‍याली निकालिएको थियो । नगरपालिका कार्यालयबाट सुरु र्‍याली कार्यालय पुगेर कार्यक्रममा परिणत भएको छ ।

You might also like
Loading...